काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको छ । पछिल्लो समयमा सम्बन्धमा अध्यक्षद्वयबीच संवाद नै बन्द भएको थियो । आज बिहीबार प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आइतबारदेखि बन्द भएको संवाद आजबाट पुन: सुरु भएको छ । उपसभामुख प्रकरणलाई लिएर दुई अध्यक्षबीचको सम्बन्धमा तिक्तता आएको हो । प्रचण्डको अध्यक्षतामा २६ पुसमा बसेको सचिवालयको बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गराएका थिए । त्यो दिन अर्का अध्यक्ष ओली भने अस्पताल गएका थिए ।

अध्यक्षद्वयमा त्यही दिनदेखि सम्बन्ध बिग्रेको थियो । तर, उपसभामुखलाई राजीनामा दिलाउने सचिवालयको बैठकभन्दा पहिला अथवा २३ पुसमा भैंसेपाटीमा भएको गोप्य भेलाबाट नै ओली प्रचण्डको सम्बन्धमा तिक्तता आएको थियो ।

प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्णय पनि अहिले बेवारिसेजस्तो बनेको छ । उपसभामुखले राजीनामा नदिने अडान लिएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् । उनी त्यसको विकल्प र कान'नी परामर्शमा पनि लागेका छन् । ओली र प्रचण्डबीचको संवादहीनता अन्त्यका लागि महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सक्रिय भएका थिए ।