जनकपुर - मदिराको मातमा निर्दोष व्यक्तिको हत्या गर्ने पाँच युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ बिना कुनै कारण धनुषा, सबैला नगरपालिका –१२, रघुनाथपुरस्थित सडकमै झगडा गर्ने युवालाई सम्झाउन गएका स्थानीय ५१ वर्षीय सोनेलाल पुलामीमाथि नै आक्रमण भयो ।

उनीहरुले बाँसको भाटाले टाउकोमा हानेपछि ढलेका पुलामीको उपचारको लागि जनकपुर ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको थियो । उक्तघटनामा संलग्न छ मध्ये पाँच जनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

घटनामा संलग्न देखिएका सबैला –१ निवासी १९ वर्षीय कपिल सदा, सोही उमेर र स्थानका अशेष यादव, २३ वर्षीय धर्मदेव राउत र २४ वर्षीय जितेन्द्र राउत तथा वडानम्बर ४ का १९ वर्षीय सोनु भन्ने मोनु यादव पक्राउ परेका छन् ।

घटनामा संलग्न पुष्टी भएको सबैला १ का २० वर्षीय अमरजीत राउत तथा अर्को पहिचान हुन नसकेको एक जना फरार रहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज इन्सपेक्टर चन्द्रभुषण यादवले जनाए ।

हत्यामा संलग्न अभियोगमा पक्राउ परेका सबैले अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका इन्चार्ज एसपी रमेश बस्नेतले उनीहरु विरुद्ध कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाइसकेको बताए ।