काठमाडौं - पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ ।

जितका लागि नेपालले १४६ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा १३२ रनसहित अलआउट भयो । ओमानमा जारी प्रतिस्पर्धामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिम १४५ रन जोडेको थियो ।

पहिलो दुई म्याचमा जित हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले पराजित हुँदै ४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । समान अंक रहे पनि रनरेटको आधारमा ओमन दोस्रो स्थानमा छ ।

उत्कृष्ट सुरुवात गरेको नेपालले कुनैबेला १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोडेको थियो । तर, लगत्तै निरन्तर तीन बलमा तीन विकेट पतन भएपछि नेपालको बलिङ धरासायी बन्न पुग्यो ।

आक्रामक सुरुवात गरेका कप्तान पारस खड्काले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडेर आउट भए । खड्काले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । उनलाई मार्क अडायरले क्याचआउट गराएपछि नेपाल प्रतिरक्षात्मक हुनथाल्यो ।

आजको खेलमा कमब्याक गरेका अर्का ओपनर इशान पाण्डेले ३० बलमा २ चौकासहित २२ रन बनाउँदै पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी गर्दै खेल्नेक्रममा १४औं ओभरको अन्तिम बल र १५ औं ओभरको पहिलो दुई बलमा नेपालको लगातार विकेट पतन भयो । यही मोड नै नेपालको पराजयमा निर्णायक रह्यो ।

आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाएर आउट भएपछि अन्य ब्याट्सम्यान चल्न सकेनन् । विनोद भण्डारी २ बलमा १ रन हानेर रन आउट भए भने सन्दिप जोराले पनि २ रन मात्र जोडेर पेभेलियन फर्किए ।

सोमपाल कामी एक चौकासहित ७ रन बनाएर आउट भए । थप दबावमा रहेको नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो । त्यतिबेला क्रिजमा रहेका करण केसीले २ बलमा छक्का र चौका हाने पनि तेस्रो बलमा आउट भए ।

यसअघि आयरल्यान्डका लागि पल स्टर्लिङले ४७ बलमा ६ चौका र २ छक्कासहित ५९ रनसहित अर्धशततकीय पारी खेले । एन्डी बालबिनीले ३८ रन बनाए भने स्टुअर्ट थोम्प्सनले ११ बलमा २ छक्कासहित २१ रनमा अविजित रहे । नेपाली बलरका सामू अन्य खेलाडीहरु खुलेर खेल्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए ।