काठमाडौं - बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार हुनेमा मुख्य बिचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।

पटकपटक म्याद जारी गर्दा पनि अटेर गरेपछि विशेष अदालत फरार रहेकाहरूको हकमा भ्रष्टाचार मुद्दाको पेसी चढाउने तयारीमा रहेको बुझिएको छ । फरार रहेकाहरूलाई इजलासको आदेशबाट एकपटक सार्वजनिक सूचना जारी गर्न लगाउने र सो प्रक्रिया गर्दा पनि अनुपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी छ ।

विशेष अदालतले म्याद जारी गरेर पनि अनुपस्थित हुनेमा रामकुमार सुवेदी, हाटक शमशेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रूपेश शमशेर राणा, हिमान्द्री शमशेर जबरा छन् । उनीहरूको घरमा म्याद तामेली (टाँस) गरिए पनि म्याद गुजारेका छन् । कान्छा महर्जन, मन्ती गोर्खाली, बद्रीलक्ष्मी श्रेष्ठको हकमा भने आफैंले र एकाघरका जहानले म्याद तामेली बुझे पनि उनीहरू समेत उपस्थित भएका छैनन् ।

लामो समय म्याद गुजारेर बसेका नेपाली कांगेसका उपसभापति विजयकुमार गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट मात्रै विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । 

 राजधानी दैनिकबाट