काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश–२ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्ध गरेको छ । बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । 

बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीले जानकारी दिए । सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्ध भएको हो ।

प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए।