काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्द आब्हानले देशभरको जनजीवन प्रभावित भएको छ । बन्द आब्हानका कारण सुरक्षाका कारण विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् । 

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पातलिएको छ । उपत्यकाभित्रै बम फेला पर्दा त्रास झनै बढेको छ । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । 

सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो । 

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । 

उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए । 

त्यसैगरी पश्चिमी भेकमा बन्दको असर बढी रहेको छ । पश्चिममा सार्वजनिक यातायात ठप्प रहेका छन् । पूर्वतिर बन्दको सामान्य असर परेको छ । 

विभिन्न ठाउँमा शंकास्पद बस्तु राखिएको छ । केही ठाउँमा सुरक्षाकर्मी बम विस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । 

चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले बन्द लगायतका विरोधका कार्यक्रम गरेको हो ।