पर्वत - पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ । महाशीला गाउँपालिका–४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

घटनास्थलमा लुङ्खु प्रहरी चौकीबाट प्रहरीको टोली पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

मृतकहरुको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।