काठमाडौं  - भारतीय हाँस्यकलाकार कपिल शर्माले सुनिल ग्रोबर (गुथी) सँग काम गर्ने इच्छा प्रकट गरेका छन् । तीन वर्षअघि अष्ट्रेलियाबाट फर्कने क्रममा हवाइजहाजमा भएको झगडाका कारण सुनिल चर्चित हाँस्य कार्यक्रम ‘कपिल शर्मा सो’ बाट बाहिरिएका थिए ।

भारतका यी दुई सफल कमेडियनले एकसाथ काम नगरेको ३ वर्ष भयो । यसपश्चात् यी दुवैको करिअर सुखद्ले राम्रो बाटो समात्न सकेको छैन । यसैबीच कपिलले भने ‘दि कपिल शर्मा सो’ चलाइरहेका छन् । सुनिल पनि अन्य सोहरुमा व्यस्त छन् । तैपनि, कपिलले भने पहिलेको सबै घटना बिर्सिएको बताउँदै आएका छन् ।

उनले एक भारतीय मिडियासँग कुराकानी गर्दै भनेका छन्, ‘सुनिलसँग मेरो भेट भइरहन्छ । हामीले विभिन्न स्थानमा भेट गरेका छौ । स–साना गल्तीका कारण हाम्रो सम्बन्ध सकिदैन ।’ उनले भने, ‘सुनिल निकै राम्रो कलाकार हुन् । जब म कुनै कलाकारसँग काम गर्छु, मैले उनीबाट धेरै कुरा सिकेको हुन्छु ।

मैले, सुनिलसँग धेरै कुरा सिकेको छु । आगामी दिनमा पनि म उनीसँग कुनै नयाँ प्रोजेक्टमा काम गर्न चाहन्छु ।’ कपिलले अहिले आफूले नै सञ्चालन गर्दा पनि ‘दि कपिल शर्मा शो’ निकै राम्रो चलेको भन्दै सुनिलसँग अन्य कुनै प्रोजेक्टमा काम गर्ने विषयमा सोचिरहेको सुनाए ।