काठमाडौं - यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन परेको सङ्ख्या हो । 

पहिले साना क्षमताका प्रिन्टरले छपाइ गर्दा छाप्न बाँकी कार्डको सङ्ख्या धेरै भएको विभागले जनाएको छ । ‘मास प्रिन्टर’ पूर्ण क्षमतामा काम गर्दा केही महिनामा नै सकिने विभागका महानिर्देशक गोगनबहादूर हमालले बताए । ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा चार पाँच सयसम्म कार्ड छाप्ने रहेको छ ।

पहिले सञ्चालनमा रहेका साना क्षमताका उपकरणसमेत सञ्चालनमा ल्याइने उनको भनाइ छ । पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि कार्ड पर्याप्त नभएपनि अहिले कार्ड खरीद भइसकेको उनको भनाइ छ । 

सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ शुरु गरेसँगै नै समस्या आएको थियो । एकातिर भएका उपकरण देशभरका अनुमतिपत्र छाप्नका लागि पर्याप्त नभएको र भएका उपकरणमा समेत समस्या आउँदा छाप्न बाँकी कार्डको सङ्ख्या बढिरहेको थियो । सरकारले ‘मास प्रिन्टर’ दुई महिना पहिले ल्याएको थियो ।