काठमाडौं - नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने बताएका छन् ।

मंगलबार कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले आउने अससार मसान्त सम्ममा कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जामा प्रत्येक बैंकले कम्तीमा पनि ५ सय जनालाई सहुलियत ब्यजादरको कर्जा उपलब्ध नगराए आर्थिक जरिवाना गर्ने नीति लागू गर्ने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको बताए ।

उनले कृषि विकास बैंक सरकारको बैंक भएर पनि सरकारका नीतिहरु पालना नगरेको आरोप समेत लगाए । ‘सहुलियत कर्जामा जाने कर्जा नेपाल सरकारले सुरक्षण गरिदिएको अवस्था छ, सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, यो कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि बसिदिएको छ, तर सहुलियत कर्जा वितरणको अवस्थालाई हेर्दा अत्यन्त दयनिय अवस्था छ यसले गर्दा खेरी कृषि विकास बैंक सरकारको बैंकले सरकारले ल्याएको कार्यक्रम लागू गर्न तपाईहरुलाई के ले बाधा प¥यो यो कुरामा हामी यहाँ हरुलाई छुट गर्ने छैनौं’ उनले भने । उनले कृषि विकास बैंक भएकाले पनि सहुलियत कर्जा ५ अर्ब मात्र दिएका छौं भन्न नहुने बताए ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले देशको गरिबी निवारणमा महत्वपूर्ण भूमिका बैंकले खेलेको बताए । उनले सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले १० लाख भन्दा कमको कर्जाको भार ८४ प्रतिशत हुनुले यसलाई पुष्टि गर्ने बताए ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि विकास बैंकले व्यवसाय विस्तारमा गरेको उपलब्धी र उत्कृष्ट वाणिज्य बैंकहरुमध्ये तेस्रो हुन सफल भएको भन्दै प्रशंसा गरे । उनले निजी क्षेत्रका वाणिज्य बैंकका कर्मचारीहरुले जस्तै नाफाको १० प्रतिशत बोनस खान पाए अझै राम्रो हुने बताए ।

‘हामी प्रइभेट सेक्टरमा कामगर्ने बैंकका मान्छेहरुले नाफाको १० प्रतिशत बोनस खान्छौं तर सरकारी बैंकहरुमा काम गर्ने मान्छेहरु हामीसँगै प्रतिस्पर्धा गर्नुहुन्छ एकाधिकार पनि छैन तर ५ प्रतिशत मात्रै बोनस पाउनुहुन्छ यहाँ मैले ध्यानाकर्षण गराउँछु बैंकको यसमा सायद अन्याय पो हो की भन्ने पनि ध्यानाकर्षण गराउँछु , र माननीय अर्थमन्त्री ज्यू पनि यहिँ हुनुहुन्छ वहाँलाई पनि म विशेष अनुरोध गर्दछु जो सँग प्रतिस्पर्धा गरिराख्नुभएको छ वहाँहरुलाई समान व्यवहार भयो भने राम्रो हुन्छ जस्तो लाग्छ’ उनले भने ।

कृषि विकास बैंकले अहिले सम्म १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब १७ अर्ब पु¥याएको छ । बैंकले कुल कर्जाको ८४ प्रतिशत १० लाख भन्दा कमको साना तथा मझौला कर्जा रहेको जनाएको छ ।

त्यस्तै बैंकले सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने तयारी समेत गरेको छ ।