काठमाडौं - कोरोनाका कारण बलिउड अभिनेता टाइगर श्राफ अभिनीत चलचित्र ‘बागी ३’ को व्यापार खस्किएको छ ।

भारतले पछिल्लो समय कोरोना भाइरसलाई ध्यानमा राख्दै त्यसको जोखिम न्यूनिकरण र रोकथामका लागि देशका विभिन्न भागमा सिनेमा घरको सेवा बन्द गरेको छ । त्यसको असर प्रदर्शनमा रहेका चलचित्रमा पर्न थालेको छ । जसको मारमा ‘बागी ३’ पनि परेको छ ।

प्रदर्शनमा आएको १०औँ दिनसम्म आइपुग्दा यस चलचित्रले कुल कमाइ ९३ करोड भारू गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसको अर्थ टाइगर अभिनीत यस चलचित्र सय करोडको कमाइको नजिक पुगेको छ ।

कोरोनाको प्रकोप नफैलिएको भए सामान्य अवस्थामा यस चलचित्रले यो लक्ष्य केही दिनमै पूरा गर्ने थियो । तर कोरोना भाइरसका कारण उसका लागि यो सजिलो नहुने देखिएको छ ।

बक्सअफिस इण्डिया डटकमका अनुसार पछिल्ला दिनामा चलचित्रको कमाइ घट्दै गएको छ ।

प्रदर्शनको दशौँ दिनमा ‘बागी ३’ ले करिब २ करोड भारु मात्र कमाउन सकेको छ । जबकी रिलिजको दिन १७ दशमलव ५० करोड भारु कमाइ गरेको यस चलचित्रले सुरुाआती सप्ताहन्तमा नै ५० करोडभन्दा बढीको कमाइ गरेको थियो ।

रिलिजको पहिलो तीन दिनमै ५४ दशमलव ३ करोड भारु कमाएको थियो जसका कारण यो चलचित्रलाई सय करोड क्लबको सिनेमा मानिएको थियो ।