काठमाडौं - भारतमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने जनजीवन त्रसित बनेको छ । तर, नेपालमा जस्तै–संक्रमण रोकथामका लागि प्रयोग गरिने मास्क र स्यानिटाइजरको कालोबजारी भारतमा पनि सुरु भएको छ ।

अचानक मास्क र स्यानिटाइजरको माग बढेको छ । तर, भारतका विभिन्न ठाउँमा मास्क र स्यानिटाइजर पाउनै मुस्किल पर्न थालेको छ । पछिल्लो तीन दिन यता विक्रि ह्वास्तै बढेको छ । मान्छेहरु भने मेलिकल स्टोरमा मास्क र स्यानिटाइजर पाउन छाडेको गुनासो गरिरहेका छन् ।

भारतमा पनि मास्कको एक सय भारु देखि ५ सयसम्म लिइरहेका छन्, व्यापारीले । नोएडाका स्थानीय अशोक कुमारले आफुले एन ९५ मास्कका लागि आफुले चार सय ९९ भारु तिरेको बताए । एक दिन पहिले मात्रै त्यही मास्क उनले २५० भारु तिरेका थिए । उनले जनता समस्यामा परिरहेका बेला व्यापारी भने फाइदा उठाइरहेको आरोप लगाए ।

नोएडाका मुख्य चिकित्सा अधिकारी डाक्टर अनुराग भार्गव भने जनता दुःखी हुनुपर्ने काण छैन भनेका छन् । उनले मुख्य गरी भीडभाडबाट बच्नु पर्ने र यदि भीडभाडमा जानु परे मात्रै मास्क लगाउनु पर्ने बताएका छन् ।