काठमाडौं - चीनका राष्ट्रपति सी जिनपिङ भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्। सीले नेपाल भ्रमणको क्रममा राजनीतिक दलका नेताहरुसँगको भेटवार्तालाई महत्व दिएका छन् ।

राष्ट्रपति सीले राजनीतिक भेटघाट प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति देउवाबाट सुरु गर्ने देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा र राष्ट्रपति सीबीच काठमाडौँको सोल्टी होटलमा साँझ ७ः१५ बजे भेट्ने कार्यक्रम रहेको बताइएको छ । उनीहरुबीच १५ मिनेट भेटघाट हुने बताइएको छ।

त्यस्तै, आइतबार साढे १० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति सीबीच भेटघाट हुने प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्।भारतको चेन्नइस्थित महाबलिपुरममा दुई दिने अनौपचारिक भ्रमणमा रहेका सीले  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गरेका थिए।

उनी अपराह्न ५ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ। राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ।