काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा बुधवार दशरथ रंगशालामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आजबाट शुरू भएको भ्रमण वर्षलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याइन् ।

'नेपालको पर्यटन विकासको सन्दर्भमा आजबाट शुरू भएको अभियान सबैको सहयोग र सहभागितामा महाअभियानको रूपमा अघि बढ्ने विश्वास लिएको छु,' राष्ट्रपति भण्डारीले भनिन्, 'सबै नेपाली एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ ।'

आजभोलि पर्यटकहरूले आरामदायी गन्तव्यभन्दा पनि नयाँ–नयाँ अनुभव संगाल्न पाउने गन्तव्यहरू रुचाउने गरेको भन्दै राष्ट्रपति भण्डारीले त्यसका लागि नेपाल उपयुक्त रहेको बताइन् ।

'सबैखालका पर्यटकलाई आकर्षित गर्न सक्षम छौं,' राष्ट्रपति भण्डारीले भनिन्, 'संसारकै उत्कृष्ट गन्तव्य सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, चितवन र अन्नपूर्ण मात्र होइन हामीकहाँ पर्यटकले रुचाउने अन्य थुप्रै गन्तव्य छन् ।'

नेपालीमा रहेको अथिति देवो भव: भन्ने भावना पर्यटकले सबैभन्दा मन पराउने भन्दै राष्ट्रपति भण्डारीले यसलाई बचाइराख्नुपर्ने बताइन् ।