काठमाडौं - पछिल्लो समय निर्जीवन बीमा ब्यबसायमा अब्बल रहेकोे नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्कासंग कम्पनीले हासिल गरेका उपलब्धि कम्पनीको अबस्था, आगामी योजना लगायतको बिषयमा  खबर एक्सप्रेसले लिएको अन्तर्वार्ता ः

आर्थिक वर्ष भर्खर सकिएकोछ नेकोको अवस्था कस्तो छ ?

कोभिडको कारणले व्यापारमा केहि कमी भएकाे छ तर पनि हामी 'टु विलियन' क्लबमा छिर्न सफल भएका छौं । फाल्गुन सम्मको व्यापारले हामी २४० करोड पुग्ने अनुमान थियो तर कोरोनाको कारण जम्मा २०७ दुइ सय सात करोड व्यापार भएको छ । 

विमा शुल्क आर्जनमा तेश्रो भए पनि नाफाको रेसियोमा नेको प्रायः एक नम्बर हुन्छ । यसको राज के हो ?

प्रथमतः हामी व्यवसायको छनौटमा अत्यधिक सजग छौं । इन्जिनियरिङ्ग बीमालाई मरिहत्ते गर्दैनौं, त्यसै गरि कमर्शियल थोत्रा सवारी साधनहरुको बिचौलिया मार्फत बीमा जथाभावि गर्दैनौं । जोखिमको वास्तविक मुल्याँकन गर्छौ । दोश्रो, हामी साना साना खुद्रा व्यापारमा लक्षित हुन्छौ, जुन जोखिमका हिसाबले र क्षतिको हिसाबले निकै कम हुन्छ । तेश्रोः हाम्रो खुद्रा व्यापार रिटेन्सन लेभल भित्रैको हुन्छ । चौथोः हाम्रो मुल नारा नै “Do something, if there is something”अर्थात “केहि छ भने केहि गर”भन्ने हो । कम्पनीलाई समग्रमा केहि फायदा छैन भने हामी मरिहत्ते गर्दैनौं अथवा बीमा शुल्क बढाउन मात्र व्यापार गर्दैनौं त्यसबाट केहि न केहि लाभ हुनै पर्छ भन्ने मान्यता हो ।

नेकोको यसपालि नाफा र नाफाको रेसियो कस्तो छ ? सेयरधनीलाई के दिने योजना छ ?

नाफाको योजना वास्तवमा ५० करोडको थियो तर कोरोनाले डिष्टर्व गर्यो । तर पनि पोहोर भन्दा राम्रो हुन्छ जस्तो लाग्छ । करिब ४० देखि ४५ करोड जति होला । हाम्रो नाफाको रेसियो विगतवर्ष जस्तै करिब २१÷२२ प्रतिशत हुन्छ । लगानीको प्रतिफल राम्रो भएको छ ।जाहाँ सम्म सेयरधनीलाई के भन्ने प्रश्न छ, हामी विगत वर्ष भन्दा राम्रो लाभाँश दिन सक्ने अवस्थामा छौं । तर त्यो नियामक निकाय र संचालक समितिमा निर्भर गर्छ, के कति दिने निर्णय गर्ने भन्ने । फेरि मैले अहिले नै भन्न पनि मिल्दैन, शेयर मुल्यमा प्रभाव पर्न सक्छ । 

शेयर मुल्यको कुरा गर्दा नेको भन्दा कमजोर कम्पनीहरु जसले विगत वर्षमा पनि केहि दिएनन् र यो वर्ष पनि केहि दिने आशा छैन् तर शेयर मुल्य नेको भन्दा बढि छ, किन?

यो त शेयर मार्केटका मित्रहरुलाई सोध्नु बेश होला । तर मेरो विचारमा अहिले हाम्रो शेयर मार्केट कम्प्लिटलि कम्पनीको फाइनान्सियल आधारमा मात्र चलेको छैन । स्पेकुलेशन, ह्विम र बहुमतको मेन्टालिटिले पनि धेरै काम गरेको छ जस्तो लाग्छ । नत्र तपाँइले भने जस्तो हुने थिएन होला ।

साधारण सभा कहिलेसम्म गर्ने योजना छ ?

अहिले हामी फाइनान्सियल पब्लिस गर्ने र एक्चुअरि गर्ने क्रममा छौं । यस वर्ष साधारण सभा समयमै सम्पन्न गर्ने लक्ष्य छ । 

बीमा ऐन अझै संसदमा अल्मलिएको छ, तपाँइहरुबाट लबिङ भएन जस्तो छ?

वर्षौ देखि कुनै ऐन लाई पेन्डिङ राख्नु भनेको, वास्तवमा साह्रै लाज लाग्ने विषय हो । तर लबिङ गर्ने हाम्रो काम हैन, त्यसको लागि बीमक संघ छ, बीमा समिती छ र सरकार छ । जसको जे काम हो त्यसले त्यहि गर्नुपर्छ । तर यो आर्थिक वर्षमा त अवश्य पास हुन्छ होला ।