काठमाडौं - यस पटक सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १-० गोलले हराउँदै नयाँ च्याम्पियन बनेको छ । आर्मीका खेलाडी ले गरेको आत्मघाती गोलको मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो ।

च्याम्पयन भएसँगै मछिन्द्रले उपाधिसहित ५० लाख नगद पनि पक्का गरेको छ । खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोल गरेका थिए । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकलाई विकासले हेड गर्दा बल आफ्नै पोष्टमा गोल भएको थियो ।उक्त गोलसँगै मछिन्द्रले अग्रता लिएको थियो । ।

त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए । दोस्रो हाफमा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । ६१ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले पेनाल्टी बक्स भित्र बाट हानेको बल आर्मीका वैकल्पिक गोलकिपर विश्वास चौधरीले बचाए ।

खेलमा फर्किने प्रयास गरेको आर्मीले ६७औं मिनेटमा राम्रो अवसर पाएको थियो तर गोल गर्न भने चुक्यो । टंक बहादुर बस्नेतको पासमा कप्तान भरतल खवासले पेनाल्टी बक्सबाट गरेको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।