काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार–ल्होसारको अवसरमा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देश गर्दै स्वदेश तथा विदेशमा रहे सम्पूर्ण तमुहरूलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् । यस्तो विविधतायुक्त साझा सांस्कृतिक पुँजीलाई हामीले संरक्षण गर्दै आएका छौं,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा छ, ‘तमू समुदायको महान् पर्व तमु ल्होछारका अवसरमा तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ ।’

विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्‍‍भाव र सहिष्णुताका मौलिक पहिचान भएको उनले बताएका छन् । ‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ ।

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ,’ सन्देशमा भनिएको छ, ‘लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्‍‍भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्‍क्षा पूरा गर्ने अभियानमा छौं ।’ 

तमू ल्होछार पर्वले सम्पूर्ण नेपालीहरूबीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षासमेत उनले व्यक्त गरेका छन् ।