काठमाडौं - सरकारले ३८ सय किलो सुन तस्करीको सम्बन्धमा सम्पूर्ण अध्ययन पूरा भएको दाबी गरेको छ । गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा बनेको सरकारको उच्च स्तरीय छानविन समितिले चार वर्षमा एउटै समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्षसहित ७० जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलाएको छ ।

यो संगै सुन तस्करी सम्बन्धि सम्पूर्ण अध्ययन सकिएको निष्कर्ष निकालेको हो । उनीहरु मध्ये प्रहरी अधिकारीसहित ४६ जना पुर्पक्षका लागि थुनामा छन् भने बाँकी फरार छन् । मोहनकुमार अग्रवाल मुख्य र भुजुङ गुरुङ, विमल पोद्दार, राजु दारुका, राजेन्द्र शाक्य, सञ्जय खेतान लगायत पनि लगानीकर्ता भएको छानविन समितिको ठहर छ ।

प्रतिवेदनमा अनुसन्धानले त्रिभुवन विमानस्थलमा कर्मचारी, प्रहरी अधिकारी, भन्सार–विमानका कर्मचारी र तस्करी समूहको सेटिङ ध्वस्त भएको समितिका संयोजक ईश्वरराज पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ३८ क्वीन्टल सुन तस्करी भएको तथ्य उजागर गर्दै ४६ जना पक्राउ गर्न सक्नु छानविन समितिले आफ्नो ठूलो उपलब्धी मानेको छ ।