काठमाडौं - इङ्ल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एकदिवसीय श्रृंखलामा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्‍न पहिलो खेलमा इंग्ल्यान्डलाई १९ रनले हराउँदै अस्ट्रेलियाले विश्‍वकप छनौटको आधार मानिएको आइसिसी सुपर लिगमा पनि अंकको खाता खोलेको छ ।

म्यान्चेस्टरको ओल्ड ट्राफर्डमा भएको खेलमा इंग्ल्यान्डले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो । सुरुवात राम्रो नगरे पनि अस्ट्रेलियाका मध्यक्रमका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ७७ र मिचेल मार्शले ७३ रन बनाउँदै सम्मानजनक स्कोरमा पुर्‍याएका थिए ।

जवाफमा २९५ रनको लक्ष्य पछ्याएको इंग्ल्यानडले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय पारी खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । अष्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ३ विकेट लिए ।

जीतसँगै तीन म्याचको एक दिवसीय श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । श्रृंखलाअन्तर्गत दोस्रो एकदिवसीय आइतबार हुनेछ भने अन्तिम खेल बुधबार हुनेछ ।