भक्तपुर - माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबारदेखि सुरु भइ १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् ।

त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक खकुरेलले कूल ८६ वटा विषयमा हुने परीक्षामा करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला(जिल्ला पठाइएको जानकारी दिए ।

परीक्षामा करिब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।

चैत ६ गते बिहान ८ बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रको नजिक रहेको सुरक्षा निकायमा पुर्‍यायाइएको छ ।

परीक्षा नियन्त्रक खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भिडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३०० र एउटा कक्षा कोठामा २०(३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ ।

कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।