एजेन्सी - साउदी अरबका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

अमार्को तेल कम्पनीका २ वटा तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य  १० प्रतिशतले बढेको हो । सोमवार एसियाली बजारमा तेलको मूल्य वृद्धि भएको समाचार माध्यमले जनाएका छन् ।

शनिबार अमार्को तेल कम्पनीका २ वटा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलापछि साउदी तेलको उत्पादन ५० प्रतिशतले घटेको छ । संसारकै महत्वपूर्व तेल प्रशोधन केन्द्रमा आगलागी भएपछि विश्व बजारमा तेलको मूल्य समेत बढेको हो ।

साउदी अरबले तेल उत्पादनमा दैनिक ५। ७ मिलियन ब्यारेल तेल कटौति गरेसँगै विश्व बजारमा तेलको आपूर्ति ५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

त्यस्तै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणलगत्तै मध्य पूर्वमा थप तनाव बढ्ने चिन्ता समेत गरिएको छ । अमेरिकी राष्ट्रपतिले आक्रमणपछि साउदी अरबको सुरक्षाका लागि अमेरिकी सेना तयार रहेको बताइ सकेका छन्। शनिबार ट्रम्पले साउदी अधिराजकुमार मोहम्मद बिन सलमानलाई फोन गरी यस्तो बताएका थिए ।

यता अधिराज कुमार सलमानले आफ्नो देशमा हुने कुनै पनि आक्रमणको कडा जवाफ दिन आफूहरु तयार रहेको बताएका छन् ।त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमार्को तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको बताएका छन् । तर उक्त आक्रमणको जिम्मा यमनको हुथी विद्रोहीले लिइसकेको छ ।