काठमाडौं,एजेन्सी - फरवार्ड लुइस सुआरेज स्पेनिस क्लब बार्सिलोनाबाट अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्। उनीसँग एट्लेटिकोले ६ मिलियन युरोमा २ वर्षको सम्झौता गरेको छ। 

बार्सिलोनाले सुआरेजलाई एट्लेटिको म्याड्रिडमा आबद्ध हुन बुधबार मात्र अनुमति थियो। यसअघि बार्सिलोनाले उरुग्वेका फरवार्ड सुआरेजलाई आफ्नो प्रतिद्वन्द्वी क्लबमा जानका लागि सहमति दिएको थिएन।सुआरेज इटालियन क्लब युभेन्ट्समा आबद्ध हुने प्रक्रिया पनि पासपोर्टका कारण रोकिएको थियो।

बार्सिलोनाका सहकर्मी स्टार खेलाडी लिओनल मेसीले क्लब छाड्ने मुड बनाएपछि सुआरेज पनि दोस्रो क्लबको खोजीमा थिए।

सुआरेज सन् २०१४ मा ७४ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका थिए। त्यसयता उनले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरे।

लिभरपुलबाट बार्सिलोना पुगेसँगै उनको करिअरले गति लिएको थियो। मेसी र नेइमारसँग उनको जोडी खुब जमेको थियो। तीन जनाको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले सन् २०१४-१५ को सिजनमा च्याम्पियन्स लिग, लिग कप र ला लिगा जितेको थियो

त्यसबाहेक सुआरेजले थप तीन पटक ला लिगा र तीन पटक कोपा डेल रेको उपाधि उचाल्ने अवसर पाए। यस्तै उनले दुई स्पेनिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकप पनि जिते।

तर पछिल्ला वर्षमा सुआरेज र मेसीले बार्सिलोनामा प्रभाव जमाउन सकेनन्। जसका कारण बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकेन। गत सिजन ला लिगामा बार्सिलोना चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग पछि परेको थियो।