काठमाडौं - ५८ वर्षीय कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । मृत भेटिएका क्षेत्रीको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको कलाकार उत्तम केसीले जानकारी दिएका छन् ।

क्षेत्रीकी श्रीमती विपना बस्नेत छोरीसँग मलेसियामा रहेका कारण क्षेत्रीको आइतबार मात्र अन्त्यष्टि हुने बताइएको छ । ‘शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुत्नु भएको रहेछ,’ कलाकार केसीले बताएका छन्, ‘शनिबार बिहान उहाँको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृत्य अवस्थामा भेटिएको थियो ।’

चिसो र सुत्नुभन्दा अगाडि अत्यधिक मदिरा सेवन गरेका कारण कलाकार क्षेत्रीको मृत्यु भएको हुनसक्ने कलाकार केसीले बताए । गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका थिए । उनको केही समय अगाडि शल्यक्रिया गरिएपछि स्वास्थ्य लाभ गरेका थिए ।

लामो समय पर्दाबाहिर रहेका उनी पछिल्लो पटक सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । कलाकार क्षेत्रीले सयभन्दा नेपाली चलचित्रमा अभिनय गरेका छन् । उनी चलचित्रमा खलनायक र चरित्र अभिनेताको रुपमा अभिनय गर्दथे ।

‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन् ।लामो समयदेखि बिरामी रहेको अवस्थामा उनको उपचारमा आर्थिक अभावका कारण समस्या देखिएपछि विश्वभरका नेपालीले सहयोग गरेका थिए ।