काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छिन् ।

म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छिन्, “म्यान्माका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ ।”

राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्माको राजकीय भ्रमणमा गएकी थिइन् । उनी आइतबारदेखि जापानको भ्रमणमा रहेकी छिन् ।