काठमाडौं - निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । 

आयोगले प्रकाशित गरेको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा विजयी भएको छ । तीन प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हात पारेको छ ।

निर्वाचन आयोगले सोमबार अपरान्ह प्रकाशन गरेको अन्तिम परिणाम अनुसार नेकपा सबैभन्दा बढी ३० स्थानमा जित हात पारेको छ । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन स्थानीय तहको अध्यक्ष पदमा जित हात पारेको छ । बाँकी उपाध्यक्ष र वडाअध्यक्ष पदमा नेकपा उम्मेदवार निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसले १३ स्थान जित हात पारेको छ । काँग्रेसका उम्मेदवार एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयर पदमा जित हात पारेको हो । काँग्रेसका तिलक राईले धरान उपमहानगरपालिकामा २६ हजार ७०९ मत ल्याएर जित हात पारे ।समाजवादी पार्टीले चार तथा राष्ट्रिय जनता पार्टी, नेपालले तीन स्थानमा जित हात पारेको छ । एकजना वडाअध्यक्ष स्वतन्त्र निर्वाचित भए ।

नेकपाको प्रतिनिधित्व गरी कास्की निर्वाचन क्षेत्र नं २ बाट विद्या भट्टराई प्रतिनिधि सभा सदस्य चुनिएका छन् । त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३(२) मा नेकपाको प्रतिनिधित्व गर्नुभएका उम्मेदवार विमलाकुमारी खत्री निर्वाचित भएका छन् । उनले २४ हजार २८६ मत ल्याए। भक्तपुर निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका कृष्णलाल भडेल र वाग्लुङ् क्षेत्र नं २(२) बाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् ।