काठमाडौं - तेलङ्गाना राज्यको राजधानी हैदराबादमा केही दिनअघि बलात्कारपछिको हत्याकाण्डमा पक्राउ परेका चारै जना प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

चारैजना आरोपीलाई अनुसन्धानका लागि घटनास्थलमा लगिएको बेला प्रहरीलाई नै आक्रमण गरी भाग्ने प्रयास गरेपछि प्रहरीले इन्काउन्टर गरेको थियो । शुक्रबार बिहानै ३ बजे चारै जना एक मुठभेडमा मारिएको समाचार माध्यमले जनाएका छन् ।बलात्कारपछि जिउँदै जलाएर भेटनरी डाक्टर प्रियंका रेड्डीको हत्या गर्ने ४ जना आरोपी मारिएपछि हैदरावादमा खुशीको लहर छाएको छ ।

इन्काउन्टरमा आरोपी मरेपछि हैदरावाद प्रहरीको सर्वत्र चर्चा भइरहेको छ । अधिकांशले प्रहरीको उक्त कदमको प्रशंसा गरेका छन् । इन्काउन्टर भएलगत्तै प्रहरीमाथि हैदरावादका नागरिकले फूलमालाले स्वागत गरेका छन् ।हैदरावाद प्रहरीको प्रशंसा गर्नेमा सर्वसाधारणदेखि सेलिब्रिटीसम्म रहेका छन् ।

पीडितका आफन्तले प्रहरीलाई मिठाइ दिएर खुसी व्यक्त गरेका छन् । केही महिलाले प्रहरीलाई राखी बाँधेका छन् भने केही मानिसहरु ‘पुलिस जिन्दावाद’ को नारा लगाउँदै सडकमा उत्रिएका छन् ।ऋषि कपूर, अनुपम खेर र साइना नेहवाल जस्ता हस्तीले समेत प्रहरीलाई स्याबासी दिएका छन् । ‘स्याबास तेलङ्गाना प्रहरी ! बधाइ छ’, कपूरले ट्विट गर्दै लेखेका छन् ।

त्यस्तै अनुपम खेरले लेखेका छन्-‘इन्काउन्टरमा चारै जना बलात्कारीको शुट गरेकोमा तेलङ्गाना प्रहरीलाई बधाइ । यस्तो अमानवीय अपराध गर्नेलाई कडा सजाय दिनुपर्छ भनेर आवाज उठाउनेहरुले मसँगै जोडले भन्नुहोस् ‘जयहो’ ।’

चर्चित बलिउड अभिनेत्री तथा अमिताभ बच्चनकी श्रीमति जया बच्चनले प्रहरीले ढिलै भएपनि निकै राम्रो काम गरेको प्रतिक्रिया दिएकी छन् । यसअघि बच्चनले ४ जना आरोपीलाई सार्वजनिक स्थलमा सजाय दिनुपर्ने बताएकी थिइन् ।ब्याडमिन्टन खेलाडी नेहवालले ‘धेरै राम्रो काम । हैदरावाद प्रहरीहरु म तपाईंहरुलाई सलाम गर्छु’ भन्दै ट्वीट गरेकी छन् ।

तर केहीले भने प्रहरीको कदमप्रति विरोध जनाएका छन् । ‘आरोपीप्रति मेरो मनमा कुनै सहानुभूति छैन तर न्याय गर्ने तरिका यस्तो होइन । तेलङ्गाना प्रहरीको बेइज्जत भएको छ’, ट्विटरमा एकजना युजरले लेखेका छन् ।

त्यस्तै केही मानवअधिकारकर्मीले समेत प्रहरीको कदमप्रति आपत्ति जनाएका छन् । भारतीय जनता पार्टी (बीजेपी) की सांसद मेनका गान्धीले हैदरावाद इन्काउन्टरमाथि प्रश्न गरेकी छन् । गान्धीले इन्काउन्टर बलात्कारको समाधान नभएको बताउँदै विरोध गरेकी हुन् ।

‘हैदरावादमा जे भयो त्यो मुलुकका लागि भयानक छ किनकि कानुनलाई हातमा लिने काम गलत हो’, गान्धीले भनिन्, ‘यदि आरोपीलाई पहिला नै गोली हानेर मारिदिने हो भने अदालत, प्रहरी र कानुनको कुनै अर्थ हुन्न । यसरी त तपाईंले जसलाई चाह्यो त्यसैलाई बन्दुक उठाएर मार्न सक्नुहुन्छ भन्ने सन्देश जान्छ ।’

तेलङ्गाना प्रहरीले महिलाविरुद्ध अपराध गर्नेलाई इन्काउन्टर गरेको यो दोस्रो घटना हो । सन् २००८ मा एक महिलामाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका ३ जना प्रहरी इन्काउन्टरमा मारिएका थिए । प्रहरीले तीनै जनालाई भाग्ने क्रममा इन्काउन्टर गरेको थियो ।

अनौठो कुरा के छ भने हाल तेलङ्गनाको साइबरावादका पुलिस कमिश्नर भिसी सज्जनारको कमाण्डमा दुबै इन्काउन्टर भएको हो । सज्जनारलाई ‘इन्काउन्टर एक्सपर्ट’ को रुपमा पनि चिनिन्छ । सन् २००८ मा उनी वारंगल शहरका एसपी थिए । दुबै इन्काउन्टर सज्जनारले खटाउको टोलीले गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।