काठमाडौं – च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल मड्रिडलाई सहज रुपमा पराजित गरेको छ ।

बुधबार राति समूह ‘ए’ मा भएको खेलमा घरेलु टोली पीएसजीले रियल मड्रिडलाई ३-० गोलअन्तरले पराजित गरेको हो । पीएसजीमाथि रियलको केही चलेन । पीएसजीलाई जित दिलाउन डि मारियाले दुई गोल गर्दा थोमस म्यानियरले एक गोल थपे ।

खेलको १४औं र ३३औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई २-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफसम्म २-० गोलअन्तरले अघि रहेको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

खेलको अतिरिक्त समयमा थोमस म्यानियरले गोल गर्दै पीएसजीलाई ३-० गोलको जित दिलाए । यही समूहमा बुधबार राति नै भएको अर्को खेलमा क्लब बर्ग र गलतसारयले गोलरहित बराबरी खेलेका छन् ।