काठमाडौं - एनआइसी एशिया लघुवित्तको प्राथमिक शेयर (आईपीओ) मा नयाँ रेकर्ड कायम भएको छ। लघुवित्तको आईपीओमा हालसम्मकै धेरै आवेदकबाट आवेदन परेको हो । लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार कार्यालय समयसम्ममा ४ लाख १२ हजार ३३२ जनाले आवेदक गरेका हुन् ।

यो आवेदन संख्या सर्वसाधारणमा निष्काशन गरिएको आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो । यसअघिको नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा पनि ४ लाख बढी आवेदन परेपनि ३ लाख ९० हजार योग्य आवेदकले शेयर पाएका थिए । प्रारम्भिक तथ्याङ्क अनुसार सर्वसाधारणमा निष्काशन गरिएको शेयरको तुलनामा ५.१७ गुणा धेरै माग परेको हो ।

लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँको आईपीओ बिक्री खुला गरेको थियो। तर आवेदकहरुबाट भने २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ६८ हजार ८७० कित्ताका लागि माग भएको क्यापिटलले जनाएको छ । अन्तिम तथ्याङ्कमा भने माथि उल्लेखित विवरणमा केही परिमार्जन हुनसक्ने क्यापिटलले जनाएको छ ।

लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिसकिएको छ ।