काठमाडौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुक्रबार बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रतिवेदन लेखनमा व्यस्त भएपछि सचिवालय बैठक स्थगित भएको उनका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले बताए ।

प्रचण्डले नेकपाको स्थायी कमिटी बैठकमा राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन लेख्दैछन् । 

उनले स्थायी कमिटी बैठक अघि बस्ने सचिवालय बैठकमा समेत उक्त प्रतिवेदन पेश गर्ने र सचिवालयको सुझाव अनुसार त्यसलाई परिमार्जन गर्ने बताइएको थियो ।

प्रतिवेदन लेखन कार्य नटुंगिएपछि सचिवालय बैठक स्थगित हुन पुगेको हो । आज स्थगित भएको सचिवालय बैठक भोलि बस्ने जनाइएको छ ।प्रचण्डले पार्टीको कार्यदिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ ।