काठमाडौं,एजेन्सी - दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । यस बारेमा उनले ट्वीटरमा आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्न लागेको जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषणा गर्ने र आगामी जनवरीसम्म पार्टी दर्ता गर्ने जनाएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं ।’ रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकले यस कार्यको स्वागत गरेका छन् ।

उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन् । उनले भने, ‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ ।’

उनले पार्टी खोल्ने निर्णयमा पुग्नुअघि धेरैसँग परामर्श गरेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ ।’ उनले धेरैले आफूलाई सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको उल्लेख गरेका छन् । तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुने तय भएको छ । यसअघि उनले सन् २०१७ मा नै राजनीतिक पार्टी खोल्ने घोषणा गरेका थिए ।