काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुनै पनि परिस्थितिमा पाँच वर्षसम्म प्रतिपक्षमा नै बस्ने प्रष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल काँग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताएका हुन् ।

‘यो या त्यो परिस्थिति उत्पन्न भए पनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ’ उनले भने, ‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ । अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ किनकि जनताले हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढङ्गले निर्वाह गर्नेछौँ ।’

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताएका छन् ।