काठमाडौं - वायुसेवा सञ्चालकहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा अनुसार काम गर्न नसकिने बताएका छन् ।

वायुसेवा सञ्चालकहरुले अहिलेको अवस्थामा नागरिकलाई कुनै पनि निश्चित छुट दिन सकिने अवस्था नभएको बताएका हुन् ।

एयरलाइन्सहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले मन्त्रालयलाई पत्राचार गर्दै सो कुरा जानकारी गराएको हो।

अहिलेको कानुन, नियम तथा अवस्थाले पनि भाडा छुटलाई बाध्यकारी बनाउने कुरा स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको छ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ मा कहीँकतै पनि कुनै वर्ग, समूह, उमेर, शारीरिक अवस्था वा अन्य त्यस्तै कुनै कारणबाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यतात्मक व्यवस्था हामीलाई छैन’ संघले पठाएको पत्रमा भनिएको छ।

त्यस्तै संघले एयरलाइन्सहरू आफैंले छुट दिन नसक्ने तर राज्यले छुट दिने नीति लिएमा त्यसको कार्यान्वयन गर्न भने तयार रहेको बताएको छ । यात्रु सेवा शुल्क, ईन्धन शुल्क, नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवाबाट निःशुल्क छुट दिन वा यात्रा गराउन सक्नेतर्फ विकल्प पनि संघले सुझाएको छ।