काठमाडौं -  मैले बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी बिविध १३ वटा व्यवस्था डिजाईन गरेर तयारी अवस्थामा राखेको थिए । कुनै दिन  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट अचानकै सार्वजनिक गराउने योजना डा. ऋषि र मेरो थियो । माघ ११ गते ३ बजे प्रेस मिट गर्ने तय भयो । मैले अघिल्लो दिन नै प्रेसलाई बोलाउन समेत जानकारी गराई सकेको थिए, प्रेस सल्लाहकारको सचिवालयमा ।

प्रेसलाई जानकारी भैसकेपछि प्रधानमन्त्री ज्यूको सम्पर्क शाखा (कन्ट्रोल) बाट प्रेस मिट स्थगित गर्नुपर्ने भयो भन्ने जानकारी आयो ।  प्रधानमन्त्री ज्युले प्रेस मिट गर्नु अघि सरोकारवाला मन्त्रालयका मन्त्री ज्युहरुसंग छलफल गर्न खोज्नु भएको रहेछ । मैले प्रेसलाई बोलाई सकेको जानकारी कन्ट्रोललाई गराए । केहि समयपछि फेरि प्रधानमन्त्री ज्युबाट सरोकारवाला मन्त्री ज्युहरुलाई डाकेर पूर्व तयारी छलफल गर्ने तय भएको जानकारी आयो।

म त तयार नै थिए । मैले बीमा समितिले गर्ने बिषयमा पनि उसको लिखित सुझाब मागेको थिए । त्यो पनि थियो म संग । प्रधानमन्त्री ज्युलाई कन्भिन्स गर्न मसंग पर्याप्त जानकारी र स्रोत थियो । अचानक बिहान ११:३० मा छलफल डाकियो ।  छलफलमा प्रधानमन्त्री ज्यु आफै हुनुन्थ्यो भने परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत ,श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङ,प्रधान्मन्त्रीको परराष्ट्र सल्लाहकार डा ऋषि ,म ,श्रम सचिव,परराष्ट्र र गृहका उच्च अधिकारी समेत हुनुन्थ्यो । 

ब्रिफिङ सुरु गर्न प्रधानमन्त्री ज्युले आदेश दिनुभो । डा. ऋषिले ब्रिफिङको बिषय मात्रै उठाएर बाँकी विषय बुदाँगत  रुपमा ब्रिफिङ गर्न मलाई भन्नुभो । कसले कसरी प्रधानमन्त्रीलाई ब्रिफिङ गर्छन,यस अघि मलाई थाहा थिएन ।  बिषय मैले तयार पारेकोले  ब्रिफिङको जिम्मेवारी मैले पाए । पर्यो आपत.. प्रधानमन्त्री ज्युलाई हेर्दै डर लाग्ने । यस अघि कहिल्यै ब्रिफिङ गरेको थिइन । म त मंसिरमा मात्रै त्यहाँ गएको थिए । तर पनि,प्रधानमन्त्री सामु आफ्नो क्षमता देखाउन पाएको राम्रो अवसरलाई खेर जान दिईन । र,ब्रिफिङ सुरु गरे । ब्रिफिङमा मैले प्रधानमन्त्री ज्युलाई सर भनेर भनेको याद छ । 

ब्रिफिङ गर्दा प्रस्तावित व्यवस्था किन आवश्यक थियो, त्यो अर्थपुर्ण तरिकाले बुझाउनु पर्ने दबाब हुन्छ । नत्र राम्रो ब्यबस्था पनि बुझाईको कमीले खारेज हुने र आफ्नो असझमता पनि देखिने डर हुन्छ । पहिलो बुँदा ब्रिफिङ गरिसकेपछि त्यसमा उठेका जिज्ञासाको समाधान पनि मैले नै गर्नुपर्थ्यो । एक पछि अर्को बुदाँमा ब्रिफिङ गर्दै जिज्ञासा समाधान गर्दै गए । कसैले विपरीत प्रतिक्रिया दिनु भएन । प्रधानमन्त्री ज्युले त राम्रो- राम्रो मात्रै भनि रहनुभयो ।

तेस्रो बुदाँमा भारत जाने कामदारलाई बैदेशिक रोजगारको मान्यता दिदै फाल्गुण १ गतेदेखि बीमा र बोर्डबाट कम्तिमा १४ लाख ५० हजारको बिमा गराउने प्रस्ताव थियो । यसका बारेमा मैले डाटासहित दमदार तरिकाले ब्रिफिङ गरे , प्रधानमन्त्री ज्युले त राम्रो भन्दै हुनुन्थ्यो । तर,परराष्ट्र मन्त्रीले यो व्यवस्था लागू गर्नु अघि अध्ययन गर्नु पर्ने तर्क दिनुभो । 

मेरो तर्क थियो, कामदार बीमा गर्न तयार छन भने हामीले किन रोक्ने ? र,पनि उहाँ मान्नु भएन । त्यसपछि प्रधानमन्त्री ज्युले पनि मन्त्री ज्युको प्रस्ताव बमोजिम कार्यदल बनाएर २ महिना भित्र लागू गर्ने गरि व्यवस्था मिलाउन भन्नुभो । तर, त्यसपछि कार्यदल पनि बनेन,बीमा पनि भएन मैले सबै भन्दा महत्वपूर्ण मानेको भारत रोजगारीको कुरा तुहियो । कान्तिपुर,नागरिक, अन्नपुर्ण जस्ता सबै मिडियाहरुले भारत रोजगारीको व्यवस्थाकाबारे प्रशंसा गर्दै समाचार र सम्पादकीय नै लेखेका थिए ।

अन्य बुदाँमा क्रमैसंग ब्रिफिङ गर्दै गए । कहि कतै प्रतिक्रिया आएन । प्रधानमन्त्री ज्युले बढो गम्भीरतापूर्वक सबै ब्रिफिङ सुन्नुभो । बीमाले प्रस्तावित समय मै कार्यान्वयन गर्न सकिने प्रतिबद्दता गरेर पठाएको पत्रको सक्कलै प्रधानमन्त्री ज्युलाई देखाए । 'ए गज्जब ,बीमाले पनि गर्छु भनेको रहेछ उहाँको प्रतिक्रिया थियो ।

मैले करिब एक घण्टा ब्रिफिङ गरे होला । सबैले राम्रो ब्रिफिङ गर्नुभो भनेर तारिफ गर्नुभो ।  सबैको सहमति जुट्यो । त्यहि दिन ३ बजे प्रधानमन्त्री ज्युले प्रेस मिटबाट बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी व्यवस्थाको घोषणा गर्नुभो । घोषणामा आएका सबै कुरा मेरो अध्ययनको नतिजा, मेरो सोच थियो ।

मलाई गर्व छ,त्यो सम्बोधनबाट कामदारले २७ लाखसम्म  क्षतिपूर्ति पाउने ,करार अवधिमा एक बर्ष थप जेलमा रहेका नागरिकको लागि वकिल राख्ने सबै खर्च सरकारले ब्यहोर्ने, करार अवधिको आधारमा कल्याणकारी कोषमा सहभागिता तथा श्रम स्वकृतिको म्याद गुज्रेपछि मृत्यु भएका नागरिकले पनि राहत पाउने लगायतका थुप्रै व्यवस्था आयो ।