रौतहट - रौतहटको उखु बालीमा किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित भएका छन् । नदी किनारमा रहेको खेतमा लगाईएको उखु बालीमा किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् ।

असार २७ र २८ गते नदिमा आएको बाढिले उखु बालीमा असर गरेको किसानहरुको भनाइ रहेको छ ।

अधिकांश किसानको उखुबालीमा बाढिले क्षति भएको र कम क्षति भएको खेतमा पनि किराको प्रकोप देखिन थालेको उखु किसान सुनिल कुमार यादवले बताए । उखुको पता सुक्ने, पात रातो हुने र गुभो र लाक्रा सुक्ने गरेको उनले बताए ।

किसानले लगाएको उखु बालीमा विभिन्न किसिमका समस्या आउँदा किसान निराश भएको उनको भनाई रहेको छ । बाग्मति र लालबकैया नदिको किनारका खेतमा लगाइएको उखु बालीमा समस्या बढि रहेको पाईएको छ । विभिन्न कारणले गर्दा रौतहटमा यस बर्ष उखु उत्पादनमा कमि आउने किसानहरुको अनुमान गर्न थालेका छन् । बाढी तथा डुवानका कारण उखु बालीमा किराको प्रकोप देखिन थालेको श्रीराम सुगर मिल गरुडाका उखु विकास अधिकृत गान्धि पटेलले बताए ।

उखु बालीमा किराको प्रकोप देखिन थालेपछि स्थलगत निरिक्षण गर्दै उखु किसानलाई सुझाव दिने गरेको उनले बताए । लाल बकैया नदि आसपासमा रहेको भसेढवा, कटहरिया, हर्षाहा, झौआ, टिकुलिया, मर्यादपुर, ईनरवा लगायत गाँउका खेतमा किराको प्रकोप देखिएको छ । बाग्मति नदि आसपासको गाँउमा समेत समस्या देखिएकाले न्युनिकरणका लागी स्थलगत निरिक्षण गरेको र यस बारेमा किसानलाई सुझाव दिएको उखु विकास अधिकृत पटेलले जानकारी दिए।