काठमाडौं - अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए । उनले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत राससलाई बताए । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ ।

‘कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ’, जोशीले भने । कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पुर्याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पु(याएको छ । हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पु¥याएको तर क्षतिको विवरण संकलनको क्रममा रहेको जनाइएको छ ।