एजेन्सी - प्रहरीले जामिया मिल्लिया इस्लामिया विश्वविद्यालय प्रवेश गरी धरपडक गरेको भन्दै भारतको राजधानी दिल्लीमा विद्यार्थी र अभियानकर्मीहरु प्रदर्शनमा उत्रिएका छन् ।

पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट अवैध रूपमा आएका मुस्लिमबाहेक अन्य धार्मिक समुदायका आप्रवासीलाई आममाफी दिने विवादास्पद नागरिकता कानुनविरुद्ध जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयमा विद्यार्थी र शिक्षक संगठनले आइतबार विरोधप्रदर्शन गरेका थिए ।

प्रहरी विश्वविद्यालयमा अनुमतिबिना प्रवेश गरी प्रदर्शनकारीलाई धरपकड गरेको थियो । तर विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले ढुङ्गाले हानेको तथा गाडीमा आगो ‍लगाइदिएकाले बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ।

यता जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थी एवं शिक्षक सङ्गठनले आफूहरूले हिंसात्मक प्रदर्शन नगरेको दाबी गरेका छन्।सोमबार समेत प्रहरी धडपकड र कारबाहीको विरोध गर्दै राजधानीका विभिन्न भागमा थप प्रदर्शनकारीहरू भेला भइरहेका छन्।

दिल्लीका विद्यार्थीसँग ऐक्यबद्धता जनाउन भारतका अन्य विश्वविद्यालयमा पनि विरोध कार्यक्रम आयोजना गरिएको छ।

तीन देशबाट आएका मुस्लिमबाहेक अन्य आप्रवासीलाई नागरिकता दिने गरी नागरिकता विधेयक लोकसभा र राज्यसभाबाट पारित भएपछि भारतका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ । पूर्वोत्तर भारतमा जारी प्रदर्शनमा एक साताभित्रै छ जनाको मृत्यु भइसकेको छ।

यस क्रममा पश्चिम बंगाल, आसाम र त्रिपुरा लगायतका क्षेत्रमा प्रदर्शनकारीले राजमार्गमा अवरोध गरेका थिए । विरोध प्रदर्शन चर्किँदै गएपछि आसाममा कर्फ्यु लगाइएको छ । आसाममा अत्यावश्यक दैनिक उपभोग्य सामान किन्नका लागि राज्य सरकारले छोटो समयका लागि कर्फ्यू हटाएको छ।

ब्रिटेन, अमेरिका र क्यानडाले आफ्ना नागरिकहरूलाई पूर्वोत्तर भारतमा यात्रा गर्दा सतर्क रहन भन्दै विज्ञप्ति जारी गरेका छन्।आलोचकहरूले उक्त कानुन सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को मुस्लिम समुदायलाई सीमान्तीकृत बनाउने योजनाको एउटा अंश भएको आरोप लगाएका छन्।

धार्मिक आधारमा नागरिकता दिँदा भारतको संविधानमा उल्लिखित धर्मनिरपेक्षताको सिद्धान्त उल्लंघन भएको भन्दै विपक्षी दलले समेत नागरिकता विधेयकको आलोचना गरेका छन् ।