नयाँदिल्ली - चीन र भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सेनाहरुबीच फेरि झडप भएको छ । चिनियाँ सेनाले पूर्वी लद्दाखको सिमानामा भएको सहमति चीनले उल्ल‌ंघन गर्दा समस्या उत्पन्न भएको भारतीय पक्षको दावी छ ।

भारतीय सेनाले पाङ्गोङ सो तालमा चिनियाँ सैनिकहरुको उक्साहटपूर्ण कदमलाई रोकेको पनि दावी गरेको छ । सोमबार भारतीय सेनाले यसबारे विज्ञप्ति समेत सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएको हो ।

यही साताको शनिबार र आइतबार राति दुई पक्षका सैनिकहरुबीच झडप भएको बताइएको छ । घटनापछि सीमाक्षेत्रमा तनावपूर्ण अवस्था रहेको भारतीय मिडियाले जनाएका छन् । यद्यपि झडपमा क्षति भएकोबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

यसअघि जुन १६ मा पनि २० भारतीय सैनिकको मृत्यु हुने गरी चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो । त्यसपछिका दिनमा दुबै पक्षका कमाण्डर तहका सैनिक अधिकृतहरुबीच वार्ता भए पनि व्यवस्थित निचोड निस्किन सकेको छैन ।