काठमाडौं - विक्रम संवत् १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा मूल समारोह समितिले दिउँसो साढे १ बजे भक्तपुर दरबार स्क्वायरमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । तयसअघि जनचेतनामुलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक तथा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

उनका अनुसार पहिलो पदयात्रा लामगाल–पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुग्नेछ । यसैगरी दोस्रो पदयात्रा भाज्या–पुखु–इनागा–भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूल समारोहको कार्यक्रममा सहभागी हुनेछ ।

दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको छ । दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्नेछन् ।