काठमाडौं - अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी सर्वाधिक पैसा कमाउने फुटबलरमा दरिएका छन् ।

संसारका धनीहरुको विवरण राख्ने म्यागेजिन फोर्ब्सका अनुसार बार्सिलोनाका मेस्सीले युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै शीर्ष स्थान हत्याएका हुन् ।

यी दुई फुटबलरबीच सबैजसो विषयमा प्रतिष्पर्धा भइरहँदा धन संकलनमा पनि उछिनाउछिन हुने गरेको छ । फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर छ जबकी रोनाल्डोको ११७ मिलियन डलर रहेको छ ।

तेस्रो स्थानमा रहेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमारले यी दुईलाई पछ्याइरहेका छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको ऊक्त पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ ।

सन् २०१९ मा पनि यी तीनै जना शीर्ष स्थानको यही सूचीमा रहेका थिए । तर यस पटक चौथो स्थान भने तीन स्थानमाथि उक्लिएर पिएसजीकै केलियन एमबाप्पेले हत्याएका छन् ।

उनी ४२ मिलियनसहित चौथो स्थानमा रहँदा लिभरपुलका मोहम्मद सालहले ३७ मिलियनसहित पाँचौँ स्थान ओगटेका छन् ।

छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन, आठौँ स्थानका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।