एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले शेफिल्ड युनाइटेडलाई १–० ले हराएको छ ।

शेफिल्ड युनाइटेडको मैदानमा गएराति भएको खेलमा अर्जेन्टाईनी खेलाडी सर्जियो अगुएरोले सिटीका लागि निर्णायक गोल गरे ।जितसँगै सिटीले ५१ अंक बनाएको छ । सिटी एक खेल कम खेलेको लिभरपुलभन्दा १३ अंकले पछि छ भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अंकले अघि छ । 

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन् । चेल्सीको मैदानमा भएको खेलको सुरुमै आर्सनलमा डिफेन्डर डेभिड लुईजले रातो कार्ड खाएपछि पाहुना टोली १० जनामा समेटियो ।तर पनि चेल्सीले एक खेलाडी कम भएको आर्सनल विरुद्ध जित निकाल्न सकेन । खेलमा चेल्सीका लागि जर्गीनो र सिजर अज्पीलिकुएटाले एक एक गोल गरे ।

आर्सनलका लागि मार्टीनेली र हेक्टर बेलेरिनले एक एक गोल गरे । प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा साउथह्याम्प्टनले क्रिष्टल प्यालेसलाई २–० ले हराउँदा बर्नमाउथले ब्राइटनलाई ३–१ ले तथा एस्टन भिल्लाले वाट्फोर्डलाई २–१ ले पराजित गरे । एभर्टन र न्युकासल युनाईटेडले २–२ गोलको बराबरी खेलेका छन् ।