काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताएका छन् । 

दमक नगरपालिकामा औद्योगिक पार्क निर्माण परियोजनाबाट क्षतिपूर्ति पाउने गरी प्रभावितका लागि आयोजित वित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो नेपालका लागि नै अनौठो अवसर र दमकका लागि त सबैभन्दा ठूलो सपना नै रहेको बताए । उनले यसै भएका हुँदा स्थानीय तह र सरोकारवाला सबैले यस अवसरलाई उचित सदुपयोग गर्न सहयोग गरी लगानीमैत्री वातावरण निर्माण गर्न आह्वानसमेत गरे । 

उपाध्यक्ष कँडेलले सुरुमा सुन्दा त आफूलाई नि पत्यार नलागेको तर औपचारिक सम्झौताका काम अघि बढेपछि भने यसलाई नेपालका लागि ठूलो अवसरका रूपमा लिएको उल्लेख गरे ।

चीन सरकारले औद्योगिक पार्क निर्माणका लागि कुल ६५ अर्ब लगानी गर्ने गरी सम्झौता भएको छ । दमक, गौरादह नगरपालिक र कमल गाउँपालिकाको कुल २१ सय बिघा क्षेत्रमा वातावरणमैत्री औद्योगिक पार्क निर्माण गरिने भएको छ ।