काठमाडौं - देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गर्ने भएका छन् ।

कार्यक्रमअन्तर्गत् जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अल्वान्डाजोल०, ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइनेछ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ कार्यक्रमका लागि ७५३ ओटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ ।संघीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकताप्राप्त सो कार्यक्रम सफलतापूर्वक सन्चालन गरेका थिए ।

मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ ।

ती कार्यक्रमका लागि करिब रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए ।उनले भने–‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।’

किन आवश्यक पर्छ भिटामिन ‘ए’ ?

बालबालिकालाई रोगसित लड्नसक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ ।

खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए ।यसैगरी, सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइनेछ । जुकाका कारण रक्तअल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ ।

यसैगरी, बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् ।

पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहारकाबारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत् रहेको छ ।बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ ।ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।