काठमाडौं - रौतहट हत्या प्रकरणमा नयाँ मोड आएको छ । १२ वर्षअघि इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर ज्युँदै रहेको उनकी श्रीमतीले दाबी गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

बम विस्फोटमा घाइते भएका अख्तरसहितका व्यक्तिलाई आलमकै निर्देशनमा इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा थुनछेक बहस चल्दै गर्दा उनकी श्रीमतीले श्रीमान वैदेशिक रोजगारीमा गएको र अहिले ज्युँदै रहेको भनेर निवेदन दिएपछि घटनाले नयाँ मोड लिएको हो ।

आलमविरुद्ध थुनछेक बहस चल्दै अख्तरकी श्रीमती आमना खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निवेदन लिएर आएको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ ।

आलमविरुद्ध सरकारी वकिलले बहस गरिरहेका बेला उनकी श्रीमती खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निवेदन लिएर इजलासमै पुगेकी थिइन् ।

श्रीमान् ज्युँदै रहेको भन्दै श्रीमती निवेदन लिएर पुगेपछि आएको भए पनि अदालतले भने निवेदन दर्ता गरेको छैन । अहिले बहस चलेकाले उनको निवेदन नहेरिएको र त्यसलाई हेर्ने नहेर्ने भन्नेबारे पछि निर्णय हुने अदालतले जनाएको छ ।