काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा चेल्सीले घरेलु टोली ब्राइटनलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा २३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफसम्म चेल्सीले नै अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ५४ औँ मिनेटमा लिणन्ड्रो ट्रासार्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए तर, त्यसलगत्तै ५६ औँ मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाउन सफल भए । खेलको ६६औं मिनेटमा कोर्ट जुमाले चेल्सीको लागि तेस्रो गोल गरेपछि जित सुनिश्चित भयो । जितसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस्तै, सोमबार नै खेलमा वल्भ्सले शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको छ ।