काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले रअ प्रमुखसंग प्रधानमन्त्रीको भेटवार्ताप्रति आपत्ति जनाउँदै सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भएको बताएका हुन् ।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।’ उनले भनेका छन् ।

बुधबार अपरान्ह इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका गोयलले बेलुका बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए । भेटमा नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा छलफल भएको बताइएको छ । प्रमुख गोयल आज बिहान १० बजे दिल्ली फर्किसकेका छन् ।