काठमाडौं - एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले घरपेटीलाई पक्राउ गरेको छ । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।

थरको कारण कोठा नदिएको भन्दै तनहुँकी २४ वर्षीय रूपा सुनारले घरपेटीविरुद्ध उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा प्रधान पक्राउ परेकी हुन् ।

पक्राउ परेकी ५८ वर्षीया प्रधानसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । 

रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्। भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्। 

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।