काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ ।

आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको भए पनि अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

यसअघि सभामुख चयनमा कुरा नमिल्दा गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आइतबारका लागि सारिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमती नहुँदा सभामुखको टुंगो लाग्न सकेकाे छैन । 

अध्यक्ष ओलीले पूर्व एमाले र दाहालले पूर्व माओवादी तर्फबाट सभामुख चयन हुनुपर्ने अडान लिएर बस्दा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेकाे छैन । 

सभामुखका लागि वर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे, पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ग र नेकपाका नेता अग्नी सापकोटाको नाम चर्चामा रहे पनि नेकपाभित्र नाममा सहमति हुन सकेकाे छैन ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा गएकाे असोज १४ गते पक्राउ परेपछि सभामुख पद रिक्त छ । सत्तारुढ नेकपाले साढे तीन महिनामा पनि सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसक्दा संसद बैठक निरन्तर सूचना टाँस गरेर स्थगित गर्दै आउनु परेकाे छ ।