काठमाडौं -  सरकारले चीनको वुहानबाट एक सय ७५ नागरिकको उद्धार गरेको छ । हुबेई प्रान्तका विभिन्न ६ सहरमा रहेका उनीहरूलाई वुहानमा जम्मा गरेर उद्धार गरिएको हो । यीमध्ये १७० विद्यार्थी, एक मजदुर, दुई बालबालिका र दुई पर्यटक छन् ।

नेपाल आउन १८५ जनाले आवेदन दिए पनि चारजनाले चीनमै रहने निर्णय गरे भने ६ जनालाई ज्वरो आएका कारण अनुमति नभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । ‘१७५ जना स्वदेश फर्कनुभएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने, ‘नेपाल सरकारले पठाएको एक लाख थान मास्क पनि चीनको हुबेई प्रान्तको च्यारिटी फेडरेसनलाई हस्तान्तरण गरिएको छ ।’ सरकारले नेपालीहरूको उद्धारमा सहयोगका लागि चीनको परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणसहित सम्बद्ध सबैलाई धन्यबाद दिएको छ ।

सरकारले आन्तरिक प्रयास थालेको १३ दिनपछि शनिबार विशेष तालिमप्राप्त स्वास्थ्यकर्मी र चालकदलसहित १६ जनाको टोली वुहान पठाएको थियो । उनीहरूअपराह्न ४ बजेर १ मिनेटमा नेपाल वायुसेवा निगमको दुई सय ७४ सिटे वाइडबडी जहाज लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए । टोलीमा चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रु मेम्बर तथा एक÷एक इन्जिनियर, प्राविधिक र डिस्पाचर थिए । जहाज पुग्नुअघि नै बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्काउनेहरूलाई बसबाट ओसारेर वुहानमा जम्मा गरेको थियो ।

फर्काइएकाहरूलाई राख्न क्वारेन्टाइनमा लगभग ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ ।

क्वारेन्टाइनमा २५ स्वास्थ्यकर्मीको टोली खटाएको छ । कम्तीमा दुई साताको क्वारेन्टाइन अवधिसम्म स्वास्थ्यकर्मी त्यहीँ रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ । व्यक्ति स्वयंले जाँच गर्न मिल्ने गरी छुट्टाछुट्टै थर्मोमिटर पनि राखिएको छ । मन्त्रालयका अनुसार सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । पाँच गाडी र तीन सुविधासम्पन्न एम्बुलेन्स पनि तयारी राखिएको छ ।

नयाँ पत्रिकाबाट