काठमाडौं - माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि  सोमवार अर्थात् भोलि राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै मौन सोमवार राति १२ बजेबाट मौन अवधि शुरू हुने जानकारी दिएका हुन् ।

'संवत् २०७६ साल माघ ९ गते बिहीबार सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा हुँदैछ,'  विज्ञप्तिमा भनिएको छ, 'यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मिति २०७६ साल पुस २७ गतेबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत निर्वाचन आचार संहिताले तोकेका सबै सरोकारवालाहरूले पालना गर्ने गरी निर्वाचन आचार संहिता, २०७२ लागू गरेको छ ।'

निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात् भोलि २०७६ साल माघ ६ गते सोमवार राति १२ बजेदेखि देखि मौन अवधि शुरू हुँदैछ ।

आयोगका अनुसार मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार कार्य गर्न गराउन पाइने छैन । मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस जस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको आयोगले जनाएको छ ।