काठमाडौं - कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए ।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’लाई भने छाडिएको छैन । कोरोनाका कारण इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन् ।